All about Sunuwar

अन्तरक्रिया तथा ढोल बजाउने तालिम सम्पन्न

–सुनुवार डट ओआरजि समाचारदाता
“जबसम्म राजनीतिक रुपमा सचेत हुँदैनौं हामीले जतिसुकै साँस्कृतिक प्रशिक्षण लिए पनि काम छैन । राजनीति भनेको शक्ति हो । साँस्कृतिक चेतले मात्र शक्ति सञ्चय हुँदैन । राजनीति गर्नु भनेको शक्ति प्राप्त गर्नु परेको हो ।” सुनुवार सेवा समाज बेताली रामेछापले दुईदिने ढोल बजाउने तालिम तथा साँस्कृतिक अन्तरक्रिया समापनलाई सम्बोधनक्रममा कोइँचबु काःतिचले बताउनु भयो । गत केही हप्ता अगाडि कोइँच फुटबल टुर्नामेन्ट सम्पन्न गरेको सुनुवार सेवा समाज बेतालीले आउँदै गरेको शाँदार पिदारलाई लक्षित गरेर ढोल बादन प्रशिक्षण तथा समसामायिक अन्तरक्रिया गरेको छ ।
“जब कानुन नै विभेदकारी हुन्छ अनि देशका जनताले दुःख पाउँछन् । वर्तमान संविधान कोइँचको मानवाधिकार विरुद्धमा छ । यो देशको राजनीतिक परिवर्तनमा सुनुवारले ठूलो योगदान दिएको छ । तर हामीलाई राज्यबाट उत्पीडनमा पारिएको छ । खस भाषा, हिन्दू धर्मका लागि राज्यले लगानी गरेको छ तर हाम्रो भाषा, संस्कृति जोगाउन भने हामी आपैंmले खर्च गर्नु पर्ने कस्तो विडम्बना ?” रमेशकुमार सुनुवार, सुनुवार सेवा समाज जिल्ल समिति रामेछाप अध्यक्षले बताउनुभयो ।
दुई दिने प्रशिक्षणमा ढोलहरुको नाम, ढोलको ताल आदि सिकाइयो ।
“देश अहिले संकटमा गुज्रिएको छ । यो संकट भनेको नेपालका खस बाहुनहरुले ल्याएका हुन् । यसमा हाम्रै केही परम्परागत वाहुनवादी मान्छेहरुको पनि सहमति रहेको देखिन्छ । नेपालको संविधानले कोइँचको भाषिक, साँस्कृतिक, प्राकृतिक अधिकार खोसेको छ । कोइँचको मानवाधिकार खोसेको छ । यो संविधान कोइँचको विरुद्धमा छ । यसको लागि हामी सबै एकजुट हुनु पर्छ ।” सुसेस संस्कृति तथा अनुसन्धन विभागीय प्रमुख अमृत सुनुवारले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका रामचन्द्र बस्नेत, एमालेका यसोदा घिमिरे समेतले आफ्नो भनाई राख्नुभएको थियो ।
रस्नालु, खिम्ती, नमाडी, फर्पु, बेतालीका युवाहरुको सहभागिता रहेको ढोल बादन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रविनकुमार सुनुवारले भन्नुभयो, “हामीले हाम्रो अधिकार खोज्दा अरुको अधिकार खोसेको ठान्नेहरु धेरै छन् । तर हामीले अरु कसैको अधिकार हनन् गर्न खोजेको होइन । हाम्रो मानव अधिकार उपयोग गर्न पाउनु पर्छ मात्र भनेको हो । तर यो देशको कानुनले खस बाहुनको भाषा, संस्कृतिलाई भने प्रवद्र्धन गरिरहेको छ । हामी कोइँचको भाषा, संस्कृतिलाई एक सुका खर्च गरेको छैन । बेताली गाविसमा पनि यो स्थिति छ । गाविसबाट हाम्रो कोइँचको शाँदार थानलाई बजेट विनियोजन गर्नु प¥यो भनियो भने सबैको अनुहार कालो हुन्छ । तर यही गाविसमा त्यही पर शिव मन्दिर छ त्यहाँ भने प्रायः हरेक वर्ष गाविसको बजेट केही केही हदसम्म विनियोजन भइरहेको छ । यो विभेद हो कि होइन । हाम्रो मानव अधिकारलाई नीति निर्माण गर्दा नै देशको मुल कानुनमा सच्याइनु पर्दछ भन्ने हो । हो, यही विभेदकारी कानुनको कारण अहिले आम नेपालीले दुःख खेपीरहेका छौं । तर उल्टै हाम्रा बाहुनवादी साथीहरु मधेशी र आदिवासी जनजातिलाई आरोप लगाईरहेका छन् । आमाबुबा दिदीबहिनी दाजुभाई, अब हामी हाम्रो अधिकारको बारेमा सचेत हौं । हिजोको जस्तो हाम्रो नाम बेचेर पेट पाल्न लगाउने काम नगराऔं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *