Recent Comments

सुशुप्त कथा

कोइँचबु काःतिच (उत्तम)
आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु ।
‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे इँकालि’ भन्दै गोरु हकार्दा ‘होइन ऐ ! चेरेहाम्सो, त्रि्रो गाईगोरुले कहिलेदेखि ‘तेरे मेरे तेरे मेरे’ भन्ने हिन्दी बोल्न थाले हँ ?’ खितिती खित्का छाडेर जिस्किन्थी । उनी अघि-अघि दौडिन्थी । म पछि पछि लघार्थेँ ।
उनी बाहुन्नी भए पनि हामी कोइँच भाषामै बातचित गर्थ्यौं । मिल्ने साथी, दवाँले थियौं । सँगै स्कूल जन्थ्यौं । सँगै गाई गोरु, भैंसी चराउँथ्यौं । उनी बाहुन्नी । म कोइँच । हामीमा जातभातको कुनै मतल थिएन । भर्खरै चौंध-पन्ध्र वर्षी कल्कलाउँदी दुर्गा डिट्ठीनी बजैको एक्ली छोरी थिइन् । डिट्ठा बाजेको काम जिल्ला सदरमुकाम थियो । त्यसैले छोरालाई भने आफुसँगै राखेर जिल्लाको राम्रो नाम चलेको स्कूलमा पढाउनु भएको थियो ।
दुर्गाको घरमा प्रायःजसो चिनजानको नाताले गर्दा ज्यो. पं. सोम प्रसादको बास हुन्थ्यो । गाउँभरिको चिना बनाउने काम दर्ुगाकै घरमा बसेर गर्थे । त्यसैले दुर्गालाई ज्यो. पं. सोमप्रसादसँग कुनै लाज संकोच र धक लाग्दैन थियो । डिट्ठीनी बजैको चुरीफुरी ज्यो. पं. सोमप्रसाद आउँदा छुइ नसक्नुको हुन्थ्यो ।
एक दिन दुर्गाको गाई गोठ, खेत हर्ेर्ने निहुमा हामीसँगै पोल गैरामा गाइँबस्तु चराउन आइपुगेका थिए ज्यो. पं. सोमप्रसाद । हातको रेखा केलाउने राम्रा हस्तारेखा विशेषज्ञ पनि मानिन्थे उनी । त्यसैले हामीले पालै-पालो हात हेरायौं । खुबै रमाइलो भयो त्यो दिन । पछि को ? के बन्ने ? भन्ने सबै कुरा थाहा पाउँदा अचम्म लागेको थियो ।
दिन ढल्यो । दुर्गाको गाईबस्तुको गोठ चुम्बा खेतमै थियो । हाम्रो खेत चुम्बामा प्रायः जसो हिउँदामा गाउँका खसबाहुनहरुले खर्चरी तिरेर खेतको घाँस चराउँनका लागि गोठ ल्याउँथे । बेलुकी गाईबस्तु थलो पर्किने भएको हुँदा म र अरु साथीहरु भने आ-आफ्नो गाईभैंसी बटुल्न जंगल पस्यौं । दुर्गा र ज्यो. पं. सोमप्रसाद भने गोठ नजिकैको पराल कुन्यूमै थिए ।
अचानक दुर्गा आँत्तिएर चिच्चाइन् । के भयो भनेर म दौडिँदै उनी छेऊ पुगेँ । उनको कपाल जिङरिङ्ङा थिए । उनले लाएको घाँघरको कुममा अलिकति च्यातिएको रहेछ । उनले सधैं लगाउने गरेको घाँघरको कुममा अलिकति च्यातिएको रहेछ । ‘के भयो ? लड्यौ’ ? मैले सोधेँ । गहभरी आँशु बोकेर थर्थर कामीरहेकी थिइन् उनी । मलाई पुलुक्क हेरिन् र केही नबोली घोसेमुन्टो लगाइन् । ‘के भएको हो कुन्नि – बोल्दीन ।’ मनमनै कुरा खेलाउँदै चुपचाप जंगलतिर पसेँ । ज्यो. पं. सोमप्रसाद माथि सिरानघर ख्योम्पतिचको खेतमा पुगेको रहेछन् । घर जाँन ।
अचानक एक महिना पछि उनको विवाह भयो । गाउँघरमो सरियो दिने चलन छँदै छ । मैले पनि उनको विवाहको सरियो सघाएँ । उनी नबोली नै दुलही बनेर गाउँ छाडिन् । मेरो मनमा दुर्गाको किन यति चाँडै विवाह भयो ? किन मसँग बोलिनन् ? किन स्कूल पढ्न छाडिन् ? साह्रै कौतुहल लागिरको थियो । उनलाई भेटेर सोध्न ।
दुर्गाले मेरो मौनता भंग गरिन्- ‘गाउँ फर्किने बेला जसरी पनि मेरोमा निस्केर जौ है चेरेहाम्सो । मेरो नम्बर टिप त, ९८७६५४३२१० । धेरै पछि भेट भयो । घरमै भेटेर कुरा गरौंला नि । बच्चाको स्कूल लाग्ने बेला भयो । म गएँ ।’
समयको अनतरालसँगै म भने प्रवेशिका उत्तर्ीण्ा पछि गाउँमै मास्टारी गर्न थालेँ । उनी विवाह गरेर आफ्नै घरतिर बासिन् । चटक्क हाम्रो भेटघाट हुन छाड्यो । उनी आफ्नो नेपाली सेनाको जागिरे श्रीमानसँगै काठमाडौं आएर बसेकी रहिछन् । छोराछोरी पढाउँन । संयोगले हाम्रो भेट भयो । म भने आपैले पढेको विद्यालयमा प्लस टु स्वीकृतिको लागि उच्च शिक्षामा काम विशेषले काठमाडौं खाल्डो छिरेको थिएँ ।
‘सुँदार (गाउँघरमा खसबामनले सुनुवारलाई सुँदार भन्ने गर्छन्) केटाको संगत गरेर यसले कुलको इज्जात मट्टीमा मिलाउने भई । त्यसैले स्कूल पठाउनुभन्दा पनि छिट्टै विवाह गरी दिँदा राम्रो हुन्छ’ भनेर ज्योतिष सोमप्रसादले आफ्नो लाज ढाक्न डिट्ठीनी बजैको कान फुकेका रहेछन् । किन दुर्गाको विवाह बाल्यकालमै भयो ? बाह्रा वर्षछि दुर्गासँग भेटेर मात्र रहस्य खुल्यो ।
शिव शर्मा बाहुनको कथा सुनाएर पुण्य कमाउने र आफु जोगिना ज्यो. पं. सोमप्रसादहरुले धेरै दुर्गाको बाल्यकालमै विवाह गराइदिएका यस्ता सुशुप्त कथा कति धेरै होलन् ! मैले थाहा पाएको पो एउटा भयो त – तर खोइँ यस्ता सुशुप्त कथालाई जगाउने अधिकारकर्मीहरु ? मन मनै कुरा खेलीरहृयो।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives