All about Sunuwar

साहसिक व्यक्तित्व सानुबाबु सुनुवार

–भावना परिष्कृत सुनुवार
यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् ।
रामेछाप जिल्ला स्थित रामपुर गाउँमा जन्मेका ३० बर्षीय प्याराग्लाइडर सानुबाबु सुनुवार बाल्य अवस्थादेखि नै साहसिक कार्य गर्न मन पराउँथे । उनी अग्लो उचाइ भएको ठाउँबाट उड्ने प्रयास गर्दै हाम फाल्दा धेरै पटक शरीरमा चोट लागेको थियो र हात खुटटा समेत मर्कन पुगेको थियो । यो घटनालाई उनको परिवार र वरपरको छिमेकीहरू बारम्बार सुनाउने गर्छन् । घरमा भएको छाताको प्रयोगबाट उड्ने प्रयास गर्दा धेरै पटक धेरै वटा छाता भाँचेकाले बाबा–आमाबाट पनि पिटाइ खाएका थिए । अलि हुर्कँदै गएपछि उनले रूखको गुँडमा बसेका गिद्धधरिलाई छाडेनन् जसको खुट्टा समातेर उड्दा लडी गम्भीर घाइते भएका थिए । यसैगरी अन्धा सर्प जुन वर्षातको बेलामा पाइन्छ, त्यसलाई पनि समाती उड्ने प्रयास गरे । यसरी बोरा, छाता, गिद्ध, सर्प, राडी, चटाई आदि जे–जे देख्यो सबलाई उड्ने सामग्रीको रूपमा प्रयोग गर्दै सानुबाबुको बाल्यकाल बित्यो । उनी अरू बालकभन्दा निकै पृथक थिए, जोशिला र साहसिला थिए । उनले चिताएपछि पूरा नहुञ्जेल आफुले गरेको काममा लागिपरी नै रहन्थे र यस क्रममा उनी साथीहरूको माहोलमा भन्दा एक्लै रहन पुगे । तर आफैमा सधैँ मस्त रमाइ रहने, व्यस्त हुने गर्दथे । जुन समयमा उनलाई मानिसले प्यारासुड नामको साधन प्रयोग गरेर उड्छ भन्ने थाहा पनि थिएन । उनी मात्र नभएर घरदेखि गाउँ–टोलसम्मका मानिसहरूलाई यस्तो पनि सम्भव छ भन्ने विषयमा फिटिक्कै ज्ञान थिएन । त्यो अवस्थामै उनी उड्दै शिखर माथि–माथि धेरै माथिबाट यो विश्व ब्रह्माण्डलाई परिक्रमा गरेको कल्पना गर्थे र सपना बुन्थे । यसरी आफ्नै नैसर्गिक प्रेरणाबाट बशीभूत भई सानुबाबुको बाल्यकाल अनेकौँ उपायबाट उड्ने प्रयासको साधना गर्दै बित्यो । उनी उन्मुक्त भई आफ्नो रुचिमा डुबिरहे, डुबिरहे ।
आखिरमा उनको सोच र सकारात्मक विचारले, अदम्य साहसको साथ अघि बढ्ने क्रममा एक जना शुभचिन्तकलाई भेटे । जुन बेला उनी किशोर अवस्थालाई पार गर्ने समयमा पुगेका थिए । उनलाई शुभचिन्तक मित्रले पोखरास्थित प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रमा पु¥याए । त्यसपछि उनले पछिल्लो जीवनलाई फर्केर हेरेनन् र आफु बसेको धर्तिलाई एकोहोरो छामी मात्र पनि रहेनन् । आफ्नो सोख र रुचि अनुसारको परिवेशमा निरन्तर साधनामा जुट्दै रहे प्रशिक्षण अवधिमा । त्यही प्याराग्लाइडिङसम्बन्धी नै फरक–फरक तीन विषयमा उनी उत्कृष्ट नतिजा ल्याउन सफल भए कठोर साधनाको तपस्याले गर्दा ।
फलस्वरूप यी गाउँले आदिबासी जनजाति किराँती ठिटो २०६८ जेठ ७ गते (मे २१, २०११) मा सगरमाथाको चुचुरोमा पैदल यात्रा गरी पुगी झण्डा फहराए र सगरमाथाभन्दा तीस मिटरमाथि प्याराग्लाइडिङ गरी उडेर नाम्चेमा ओर्लन सफल भएका थिए । त्यसबेला उनको साथमा सोलुखुम्बु चौरीखर्कका ३५ बर्षीय छिरिङ्ग शेर्पाले पनि उक्त साहसिक खेलमा भाग लिएका थिए । साहसिक व्यक्तित्वका धनी सानुबाबु सुनुवारले प्याराग्लाइडिङ, कायाकिङ, क्यानोइङ, साइकल यात्रा र पैदल यात्रा गरी साहसिक खेल खेल्दै विश्वको अग्लो नेपालको सगरमाथादेखि सुरु गरेर ‘समिट टु सी’ नामक साहसिक यात्रा, शुन्य तह बङ्गालको खाडी हिन्द महासागरमा २०६८ असार १४ गते (२८ जुन, २०११) दिनको ठीक १ः३० बजे पुगी विश्व रेकर्ड कायम गर्न सफल भएका थिए ।
हँसिला, रसिला, जोशिला, अत्यन्तै फरासिला यी साहसिक युवा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ संघसँग आवद्ध भई नेपाल राष्ट्रबाट व्यक्तिगत रूपमै प्रतिनिधित्व गर्दै विभिन्न देश विदेश फन्को मार्ने क्रममा जुन २४ तारीख २०१२ मा बेलायतस्थित फार्नबोरोमा आइपुगेका थिए । जर्मन, स्वीटजरल्यान्ड, फिनल्यान्ड आदि हुँदै उनी वेल्स युकेमा आई साहसिक खेलमा सहभागी हुन आइपुगेका थिए । नेपाल फर्कनु दुई दिन अगाडि उनी किराँत सुनुवार सेवा समाज युकेको सम्पर्कमा आएका थिए । उनको बेलायत बसाइ अति नै छोटो भएको कारणले किराँत सुनुवार समाजका आफन्त बन्धुहरूमा भेटघाट गरी भलाकुसारी गर्ने चाहना भने पूरा हुन सकेन । विभिन्न भागमा टाढा–टाढा छरिएर बसोवास गर्दै कामको सिलसिलामा व्यस्त जीवनबाट गुज्रिरहेका छन् सबै कोइँच सुनुवारहरू बेलायतमा । उहाँहरूमध्ये कतिपयले फोनमार्फत साहसिक युवालाई भेट्न नपाएको खल्लो अनुभव व्यक्त गर्दै उनको लागि हार्दिक बधाइ तथा अरू सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष जङ्ग सुनुवार र केही पदाधिकारीहरूले भने छोटो समय भए पनि सानुबाबुलाई भेटी स्वागत गर्दै सम्मान गरेका थिए । अगष्ट २४ शुक्रबारको दिन अध्यक्ष जङ्ग सुनुवार, महासचिव छत्र सुनुवार, सल्लाहकार भावना परिष्कृत सुनुवार, सल्लाहकार होम सुनुवार, राम सनुवार, पवित्रा सुनुवार, चुना सुनुवार र मनकुमारी सुनुवारले खादा लगाएर सम्मान गर्दै संस्थाको तर्फबाट अध्यक्षमार्फत मायाको चिनो प्रदान गरिएको थियो ।
“आफ्नो लक्ष्य प्राप्तिको निम्ति आफैँभित्रको आत्मिक आवाजलाई सुन्न सक्नु पर्छ । मन र दिमाग दुवैको तालमेल मिलाई सोचेर निष्कर्ष निकाल्दै स्वयम् आफैदेखि अभिप्रेरित र निर्देशित हुँदै जाने क्रमले आज म यो अवस्थामा पुगेँ । सुरुमा मैले कुनै प्रेरणा दिने व्यक्ति र मार्ग निर्देशन गर्ने गुरु भेटेको थिइनँ । अनि कसैबाट पनि सहयोग र हौसला नपाएको मा एक रत्ति पनि दुःख लाग्दैन, अचम्म पनि लाग्दैन । म हुर्केको परिवेशमा गाउँका सबै विचरा अनविज्ञ थिए र म स्वयम् अनविज्ञ थिएँ । थाहा छैन कुन अदृश्य शक्तिले मलाई हरपल उचाइमा उड्दै संसार घुम्ने चाहना जगाएको थियो ।” उनले भलाकुसारीको क्रममा यसरी आफ्नो बारेमा बताएका थिए । उनले यस साहसिक कार्य गर्ने अभियानमा आफुलाई राज्यबाट कुनै हौसला र सहयोग नमिलेको बरु हतोत्साहित गर्दै धम्की मिलेको खल्लो अनुभव सुनाए । तर पनि आफुसँग प्रवल इच्छाशक्ति भएकै कारणले गर्दा साहस र हिम्मत कहिल्यै पनि टुटेन । अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ संस्थाले नै उनलाई सहयोग ग¥यो । जसको फलस्वरूप प्याराग्लाइडिङ खेल अन्तरगत विश्वको साहसिक व्यक्तिमध्येमा उनलाई पनि छनौट गरियो र जसमा ‘नेशनल जिओग्राफिक एडभेन्चर अफ इयर विन्नर २०१२’ को विजेता उनी घोषित भए । यसरी आफ्नै व्यक्तिगत प्रयासबाट आफ्नो देश नेपालको प्रतिनिधित्व गर्न पाएकोमा उनी गर्व महसुस गर्छन् । उनलाई देशको राजनैतिक अवस्थाप्रति पनि चासो र चिन्ता छ ।
“भरसक पाइला टेकाउन सफल भएजस्तो लाग्छ यी साहसिक खेलमा । अझै धेरै देशका चुचुराहरू माथि फन्को मार्दैै धेरै–धेरै माथि पुग्ने रहर छ । लाग्छ एकै दिनमा विश्व ब्रह्माण्ड परिक्रमा गरौँ । केही समयपछि आफ्नै देशमा आफ्नै निजि विभिन्न साहसिक खेलहरू सम्बन्धी प्रशिक्षण केन्द्र खोल्ने इच्छा छ । अनि त्यति हतारै नभए नि सायद…. सायद म राजनीतिमा पनि पाइला राख्छु होला । त्यो क्षेत्रमा पनि म नेतृत्व गर्छु कि जस्तो लाग्छ …. जे होस सकारात्मक भाव र उच्च सोच लिएर हिड्नु पर्छ भन्ने मेरो मान्यता हो है हजुर हो” भन्दै कुरोको शैलीमा मिठास घोल्दै हाँसे उनी ।
साहसिक युवा सानुबाबु सुनुवारको कुराले राजनीतिज्ञ बनेर देशलाई उचाइमा लैजाने चाहना पनि निकट भविष्यमा अवश्य पनि पूरा होस् । उनको सकारात्मक सोच र इच्छा शक्ति नै सफलताको ठूलो हतियार हो । हाम्रो देशको स्थिति अनुसार कोही मानिस आफ्नो योग्यता र दक्षताले केही बन्न चाहे भने कुनै स्थानमा पुग्नु प¥यो भने कि मान्छे चिन्न सक्नुप¥यो, कि त किन्न सक्नुपर्छ । मान्छे चिनेको र किनेको भए योग्यताको पारख पनि जरूरी नहुन सक्छ यहाँ । सानुबाबु साधारण ग्रामीण युवाले न त कसैलाई ठाउँमा चिनेका थिए, न त आफ्नो फाइदाको निम्ति कसैलाई किन्न सक्ने सामथ्र्य नै थियो उनमा । उनीसँग थियो त केवल पहरा जस्तो अटल, साहस, जस्तोसुकै तप र साधना गर्न सक्ने अद्भूत क्षमता अनि उनी जीवनमा अप्ठेरो र गाह्रो काम मात्र रोज्ने साहसिक स्वभाव । जुन काम जस्तोसुकै साह्रो–गाह्रो किन नहोस् सुरुमा हामीले आँट गर्नै पर्छ । बिस्तारै त्यही गाह्रो काम सजिलो बन्दै जानेछ । सानुबाबुबाट पनि हामीले यही प्रेरणा लिन सक्छौँ । आ–आफ्नो रुचि र उद्देश्य फरक–फरक हुन सक्छ । तर सफलतालाई प्राप्त गर्ने सूत्र एकै हो भनि बुझ्न जरूरी छ ।
छोटो समयको निम्ति देश परदेशहरूको गगनबाट उडान भर्दै–भर्दै झुलुक्क झुल्केका सानुबाबु भोलिपल्ट लण्डनमा आयोजित नेपाली मेलामा करिब आधा घण्टा जति उपस्थित समेत हुन भ्याए कोइँच सुनुवारको जातीय पोषाक लगाएर । उनी त्यही दिन नै नेपाल फर्कन पर्ने भएकोले खल्लो अनुभव गराएर हामीबाट बिदा भए । उनको सफलताले अझ बुलन्दीको शिखरलाई चुमोस्, चाँडै नै राजनीतिको आकाशमा पनि उनलाई उचाइ प्राप्त होस् । देशलाई सफलताको उचाइ दिन उनी युग परिवर्तक बनेर आएको देख्न पाइयोस् भनी ष्याँदर देवी (चण्डी देवी) सँग पिदार (प्रार्थना) तथा कामना गर्दछौँ युकेबासी सम्पूर्ण कोइँच सुनुवारहरू ।
यसरी सर्वोच्च शिखर सगरमाथाबाट समुद्री सतहसम्म प्याराग्लाइडिङ गरेर कीर्तिमान राखेका प्याराग्लाइडर पाइलट सानुबाबु सुनुवार आगामी जनवरी २०१३ मा अफ्रिका महादेशकै सबभन्दा अग्लो हिमाल किलिमान्जारोमा प्याराग्लाइडिङको निम्ति छनौटमा परेका छन् । उनलाई सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *