All about Sunuwar

किराँत सुनुवार सेवा समाज युकेको नयाँ कार्य समिति गठन

–भावना परिष्कृत सुनुवार
४ फेब्रुअरी २०१२ शनिबारको दिन फार्नब्रो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा किराँत सुनुवार सेवा समाज (कि.सु.से.स.) युकेको वार्षिक भेला सम्पन्न भएको छ । उक्त बैठकमा पुरानो कार्य समितिको कार्यकाल पूरा भएकोले नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।
संस्थाको अध्यक्ष जङ्ग सुनुवारको अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सचिव छत्रबहादुर सनुवारले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै सम्पन्न हुन गइरहेको बैठक तथा नयाँ कार्य समिति गठन कार्यक्रमबारे प्रकाश पारेका थिए । यसको साथै सन् २००९ देखि आफ्नो २ वर्षे कार्यकालभरि भए गरेका संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्ण सुनुवारले कार्यकालभरिको आर्थिक प्रतिवेदनलाई पारदर्शीरूपमा प्रस्तुत गरेका थिए । जसलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो ।
“असल सोच र विचार राखेर परिवार, समाज र राष्ट्रको सेवा विकासमा लागिपर्ने परम कर्तव्यलाई हामी प्रत्येकले आत्मसात गर्दै जीवन अर्पित गर्नुपर्ने हुन्छ । हामी संसारको जुन कुनामा रहे पनि आफ्नो भाषा, संस्कृति र राष्ट्रलाई कदापि भुल्नुहुन्न । यही नै संस्कार हामीले हाम्रो माथि पिँढीलाई हस्तान्तरण गर्दै लैजानुपर्छ” आफ्नो मन्तव्यको क्रममा अध्यक्ष जंग सुनुवारले बताउनुभयो । यसैगरी आफ्नो दुई वर्षे कार्यकालमा तन, मन र लगनले अहोरात्र सहयोग पु¥याउने सम्पूर्ण कार्य समितिका पदाधिकारीहरू, उपसमितिका सदस्यहरू केन्द्रीय सदस्य एवं प्रत्यक्ष अप्रत्यक्ष संस्था र समाजलाई सहयोग पु¥याउने सम्पूर्ण सुनुवार बन्धुहरूलाई अध्यक्ष जंग सुनुवारले धन्यवाद ज्ञापन गर्दै बैठकको विसर्जन गरेपछि पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो ।
जलपानपछि कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिको संयोजक मुकुन्दराम सुनुवारको संयोजकत्वमा नयाँ कार्य समितिको चयन गरिएको थियो । उपस्थित सबै सहभागीबाट पुरानै कार्य समितिलाई नै चयन गरिएको कुरा संयोजक मुकुन्दराम सुनुवारले घोषणा गर्दै भने “संस्था र समाजप्रति अहोरात्र खटी निस्वार्थ भावले, तन, मन, वचन र लगनसहित अद्वितीय सेवा पु¥याएवापत पुरानो कार्य समितिको निम्ति समाजले सम्मानस्वरूप दिएको उपहार हो यो । आगामी नयाँ कार्य समिति पनि पुरानै कार्य समितिबाट सर्वसम्मतमा मनोनित भएको छ ।”
आगामी नयाँ कार्य समितिको निम्ति अध्यक्ष पदमा जंग सनुवार, महासचिव छत्र सुनुवार, सह–सचिव पुष्पा सुनुवार, उपाध्यक्ष खडानन्द सुनुवार, कोषाध्यक्ष पूर्ण सुनुवार, सह–कोषाध्यक्ष भक्तमान सुनुवार तथा सदस्यहरूमा प्रकाश जिजीचा सुनुवार, चन्द्रप्रकाश सुनुवार, यादव सुनुवार, सोनिया सुनुवार र कल्पना लिम्बू सनुवार निर्विवाद मनोनित भएका छन् ।
नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई निर्वाचन संयोजक मुकुन्दरामले नियुक्ति पत्र प्रदान गरेका थिए । संस्था स्थापना कालका भूतपूर्व अध्यक्ष विजय मुखियाले निवर्तमान तथा नयाँ कार्य समितिका वर्तमान अध्यक्ष जंग सुनुवारलाई सपथ ग्रहण गराएका थिए । यसैगरी वर्तमान अध्यक्ष जंग सुनुवारले नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई सपथ ग्रहण गराएपछि सल्लाहकारहरू तथा अन्य सहभागीबाट नयाँ कार्य समितिलाई खादा लगाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *