सार्वजानिक आव्हान

अहँः
मेरो गाउँमा भ्रष्टाचार छैन ।

गाउँको बिकास गरेर
कमाएको पैसा
काठमाडौंमा थन्काएका मात्रै हुन्
१ गिलास नर्सिङटोक
र, १०० को रिचार्जमा
हाम्रो सार्वभौमसत्ता सट्न माहिर
चलाख बुद्धिजीविहरुले।

काठमाडौंमा घर बनाउन, घडेरी जोड्न
मेरा गाउँका
सोझा दाजुभाई दिदी बहिनी परदेश लाग्छन्
तर चलाख, माहिर ती बुद्धिजीवीहरुले
मेरै गाउँमा पसिना काडेर काठमाडौंमा
आलिसानको महल, घडेरी जोडीरहेका छन् ।

नेपाल खाल्डोमा मात्रै होइन
जिल्ला सदरमुकामदेखि
गाउँघरको चल्तीको नयाँ जक्सन बजारमा
नगर, गाउँ तथा वडा पालिका सदरमुकाममा घडेरी छ
छोराछोरी काठमाडौंको नाम चलेकै स्कुलमा पढाएका छन्
शहरियाहरु पिआर र ग्रिनकार्ड ताक्छन् भने
गाउँलेले काठमाडौं ताक्नु स्वभाविकै हो
भनुम् त कसरी भ्रष्ट्राचार हुन्छ मेरो गाउँमा ?
भ्रष्ट्राचार हुनै सक्दैन, १, २, ३ पक्का ।

उहिले दशैंमा
शहरबाट गाउँ जाने लर्को हुन्थ्यो
अहिले
गाउँबाट शहर पस्ने लर्को छ
कसरी मेरो गाउँ गरिब हुन्छ?
उहिले पैसा हुने शहर पस्थे
अहिले पैसा हुने गाउँ पस्छन्
कसरि मेरो गाउँ आकर्षक छैन ?
नेपाली दलाल धनीमानी त भए भए,
विदेशीहरु समेत धन कमाउन
मेरो गाउँ आएका छन्
मान्छे त आए आए,
नेपाली बैंक समेत
मेरो गाउँमा पसेका छन्
नेपाली मात्रै कहाँ हो र,
एसिया, युरोपियन बैंक मात्रै होइन
विश्व बैंक नै मेरो गाउँमा कमाउन पसेको छ ।

यहाँका हल्लाखोर
यहाँका भ्रष्ट्राचारीहरु
सबै सबै
अहिले कि त शहरमा छन्
कि त परदेशमा छन्
यसैले यहाँ सुन्दर शान्त सुरक्षित छ
र, यहाँ भद्र भलादमीको बास छ
अनि पो यहाँ लगानी भित्रीएको छ
र त मेरो गाउँमा भ्रष्ट्राचार छैन
मह काढ्नेले हात चाटी हाल्छ
तपाईँलाई पनि स्वागत छ
आउनुहोस् मिलेर मह काढौं र हात चाटौं
त्यही भेडा मुडेर त्यही भेडालाई भारी बोकाउन सिकौं ।

Share

One Comment to सार्वजानिक आव्हान

  1. shah krishna sunuwar says:

    दिनानुदि गाउँघर समाजमा ब्याप्त समस्याका साथै समाजिक अभियन्ता,दल दलमा फसेका दलहरुका बिभिन्न असलि चरित्र चित्रणलाई ऐनाकाे रुपमा प्रस्तुत गर्नु भएकाेमा यहाँलाई धेरै बधाई एबम् शुभ-कामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *