संविधानमा राज्य भाषा र मातृभाषा सम्वन्धि परिकल्पना

–अमृत योञ्जन तामाङ

नेपालको संविधान (२०७२) ले दुइ प्रकारका भाषाको परिकल्पना गरेका छन्- राज्य भाषा र मातृभाषा । राज्य भाषा र मातृभाषाको अवधारणालाई प्रष्ट पार्न संविधानको धारा ७ र धारा ३१(५) लाई यहाँ उभ्याउन सकिन्छ ।

संविधानको धारा ७ मा लेखिएको छ- “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको  भाषा हुनेछ।” यस धाराले नेपाली भाषालाई राज्यका सबै प्रकारको सरकारी कामकाज गर्न भनिएको छ । यसले नेपाली भाषा राज्य भाषाको अधिकार सौंपेको छ । यस्तो प्रकारको लालमोहरीय अधिकार नेपाली भाषाले राणाकालदेखि ने प्राप्त गरेको हो। यो अधिकार अन्य भाषालाई प्राप्त छैन।

यसै गरी यसै संविधानको धारा ३१(५) मा लेखिएको छ- नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो ‘मातृभाषामा शिक्षा’ पाउने र त्यसमा लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने अधिकार हक हुनेछ । यो शैक्षिक अधिकार मातृभाषालाई दिइएको हो । यो धारा नेपाली भाषाको लागि हुँदैन । यस धाराबाट ‘नेपाली भाषा’ मातृभाषा होइन भन्ने प्रष्टछ ।

यसै गरी धारा २६७(६)(ग) मा भनिएको छ- “मातृभाषाहरूको विकासको स्तरमापन गरी शिक्षामा प्रयोगको संभ्यव्यताका बारेमा नेपाल सरकार समक्ष पेश गर्ने” काम भाषा आयोगलाई तोकेको छ । यस बाट पनि मातृभाषा नेपाली भाषा होइन भन्ने प्रष्ट पार्दछ ।

संविधानको भावनालाई व्यक्त गर्ने काम ऐन तथा कानुनले गर्दछ । अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ निम्नानुसारको व्यवस्था गरिएको छ-

दफा २६ (१) शिक्षणको माध्यम भाषाः विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यम नेपाली भाषा, अङ्‌ग्रेजी भाषा वा दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा हुन सक्नेछ । र

दफा २८ मातृभाषी शिक्षा सम्बन्धी व्यवस्था (१) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायका नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत सम्म वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ । तर त्यस्तो शिक्षा प्रचलित कानुन बमोजिम निर्धारण भएको पाठ्यक्रम बमोजिम हुनेछ।

यसै गरी पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राथमिक शिक्षा पाठ्यक्रममा (१) नेपाली (२) अंग्रेजी (३ गणित (४) सामाजिक अध्ययन तथा सिर्जनात्मक कला (५) विज्ञान, स्वस्थ्य र शारीरिक शिक्षा (६) स्थानीय विषय/ मातृभाषा राखिएकोले नेपाली भाषा शिरानमा र मातृभाषा अन्त्यमा राखिएकोले मातृभाषा प्रतिको दृष्टिकोण पनि प्रष्ट हुन्छ ।

यसै गरी रेडियो नेपाल, गोरखापत्र र नेपाल प्रज्ञामा रहेको मातृभाषा डेस्क र विभागबाट धेरै जान्न सकिन्छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रस्तुत हुने पेपर र कविता वाचनबाट पनि नेपाली भाषा र मातृभाषामा विभेद रहेको प्रष्ट हुन्छ।

तर केही मातृभाषी अभियन्ताहरूले ‘नेपाली’ शब्दको गहनतम् अर्थ नबुझेर हो वा प्रायोजित भएर हो मातृभाषलाई पनि नेपाली भाषा हो भनिरहेका छन्। संविधान र नेपाल सरकारका निकायहरू प्रष्ट भइसकेको अवस्थामा मातृभाषीहरू प्रष्ट नभएको देखिएकोले यी विषयहरूमा छलफल गरेर सबै पक्षा प्रष्ट हुन आवश्यक छ ।

साभार : तामाङको फेसबुक वालबाट

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *