Recent Comments

राँके पिदार र मानव स्वास्थ्योपचार

गर्मी र बर्षाको महिनाहरुमा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु सामान्य नै हो । गर्मी र बर्षामा छालासँग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । सायद यसैले साउनको पहिलो दिनलाई “राँके पिदार (शरीरको पूजा)” चाडकै रुपमा मनाउने चलनको विकास भएको हुनुपर्दछ । । राँके पिदारलाई कसै कसैले लुतो फाल्ने रुपमा पनि लिने गरेको पाइन्छ । तर राँके पिदार र लुतो फाल्ने परम्परामा फरक छ । लुतो फाल्ने आ–आफ्नै खालका चलन रहेको पाइन्छ । कतै माटो दलेर नुहाएर लुतो फालिन्छ भने कतै भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश छ ।
राँके पिदार गर्दा भने विभिन्न १२ थरीको जडीबूटी पोलेर त्यसलाई नाघेर विभिन्न किसिमको खानाको परिकार चढाई टपरामा राखी सल्लाको दियालो बालेर शरीरमा लाग्ने सम्पूर्ण रोगलाई पिदार गर्दै डाँडा कटाउनुपर्दछ भन्ने चलन छ । यसरी राँके पिदार गरेपछि रातभरि राँके जात्रा (यहाँ जनबोलीमा जात्राको अर्थ हिड्ने यात्रा गर्ने नभइ जागो बसेर रमाइलो गर्ने लाग्दछ) भरेर भोलिपल्ट अर्थात् साउन २ गते राँके बार्ने चलन छ । राँके बार्दा बालीनाली तुलफुल बगैंचामा मानिस पस्नुहुँदैन । यसै परम्परालाई सम्झाइ राख्न अझै पनि किरात वस्तीहरुमा राँके बजार, राँके जात्रा, राँके भन्ने ठाउँहरु छँदैछन् ।
राँके पिदार गर्दा सल्लाको दियालो बालेर दोबाटोमा राखिन्छ । त्यो दियालो जति बल्छ बल्छ । बल्न नसकी निभेको दियालोलाई राँके पिदार गरेको भोलिपल्ट राँके बार्ने दिन विहानै उठाएर घरको चोखो ठाउँ पाली, मारुमा सिउरेर राखिन्छ । सोही दियालोले किरात नयाँ वर्ष यालेथोचेका दिन सामिबु पिदारमा खिर पकाएर प्रसादको रुपमा आफन्त साथीभाइलाई खुवाउने चलन अझै पनि कोइँच गाउँघरमा छँदै छ ।
राँके राँके पिदार गर्नु, राँके जात्रा भर्नु र राँके बार्नुलाई प्राकृतिक स्वास्थ्योपचारको रुपमा पनि लिन सकिन्छ । शरीरमा आएका अनेकान छालासम्बन्धि रोग तथा चिसोले उत्पन्न समस्याहरु हटाउन प्राकृतिक उपचार अर्थात् प्राकृतिक तौरतरिका अपनाउने परम्परागत् चलनलाई जानेर होस् वा नजानेर हामीले बचाइरहेकै छौं । यही चलनानुसार विभिन्न चाडपर्व र दिनहरुमा प्राकृतिक उपचारपद्धतिको अभ्यास आम मानिसहरुले गर्दै आएको यर्थाथलाई बिर्सन सकिदैन । अव यसलाई समयानुकूल वैज्ञानिकीकरण र समयसान्दर्भिक बनाउँदै जानुपर्दछ । युवा पुस्ताहरुको काँधमा जिम्मेवारी थपिएको छ । संस्कारविहीन भएर अरुको संस्कृतिमा विलीन भएर बैतो जाने कि गर्वसाथ आफ्नै संस्कार संस्कृतिलाई अवलम्बन गरेर विश्वसामू अक्षुण्ण शिर ठाडो गरेर हिड्ने ? आँफैले आफ्नो आत्मसम्मानका वारेमा गम्भीर भएर सोच्ने कि नसोच्ने युवा पुस्ताहरुकै स्वविवेकमा भर पर्नेछ ।

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives