“पत्रे अनुरोध”

पहाडहरु सिञ्चित भए
सेतो हिमालका छाती चिरिए
तराईहरु पनि रक्ताम्मे भए
नदीहरु रंगिए
जंगली पातहरु छिर्केमिर्के भए
गाउँ अनि शहरहरुका
स्कुलका भित्ताहरु पोतिए
कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए
जताततै नमेटिने गरि डोवहरु बसे
रक्तरंजित भए
कतिपय ठाउँमा अतिरंजित भए
हो, रक्ताम्मे भएकै हो
लाग्छ कि,
रातो देखिनुमा मात्रै
रगत भनिएको होइन,
जुनकुनै
साउने झरीले पखालिन सक्तैन
युगौंका माघहरुले कठ्याङ्ग्र्याउन सक्तैन
परिवर्तनका खोक्रा भ्रमका खहरेहरुले झन
कसरी पो बगाउन सक्छ र ?
शान्तीको ब्यारेकहरु स्थापना हुँदैमा
कन्टेनरमा बन्दुकहरु बेस्कन कोच्दैमा
बिद्रोहहरुलाई क्यान्टोन्मेण्टमा कैद गर्दैमा
पत्रपत्र परेर बसेका रगतका डोवहरु
कसरी मेटिन सक्छ र ?
कसरी धमिल्याउन सक्छ र ?

पखाल्न नखोज !
चिस्याउन नखोज !
खोक्रो भ्रम नपस्क !
पत्रे चट्टानका पहाड भन्दा
बलियो अनि अल्गो थाक भएर उभिएका
बलिदानरुपी रगतका पत्रे डोवहरु
लाभा भई बग्नेछन् तिम्रो छातीमा ।

बलिदानका ति पत्रे डोवहरुको
पत्र पत्र केलाउ अब
डोव भित्रका रेसाहरुलाई
जिवन्तता देउ अब
सम्बोधन गर अब ।

 

——> by Prakash Sunuwar Zizich

Share

2 Comments to “पत्रे अनुरोध”

  1. gyuro says:

    झुत्रे विचार बोकेहरुले यो पत्रे अनुरोधलाई खोइ कसरी बुझे कुन्नि –

Leave a Reply

Your email address will not be published. Required fields are marked *